
- Advertisement -
काठमाडौं । प्रभावशाली इरानी फिल्म निर्देशकमध्येका एक जाफर पनाहीले नजरबन्दको विरोधमा राजधानी तेहरानस्थित इभिन जेलमा भोक हड्ताल थालेका छन् ।पनाहीकी पत्नी ताहेरेह सईदीलाई उध्दृत गर्दै मानवअधिकार कार्यकर्ता समाचार एजेन्सीले जनाएअनुसार ‘द ह्वाइट बलुन’, ‘द सर्कल’ र ‘नो बियर्स’जस्ता फिल्म निर्देशन गरेका कान्स फेस्टिभल अवार्ड विजेता पनाहीले आफूलाई रिहा गर्न अस्वीकार गरिएपछि हड्ताल थालेको जनाइएको छ ।पनाहीलाई ११ जुलाई २०२२ मा इभिन जेलको अगाडि पक्राउ गरिएको थियो । एजेन्सीका अनुसार उनले २०११ मा तेहरान अदालतले जारी गरेको ६ वर्षको जेल सजाय भोग्नुपर्ने जनाइएको छ । उनीमाथि सन् २००९ को चुनावपछिको उथलपुथलका बेला सरकार विरोधी प्रचार र विरोधलाई उक्साएको आरोप लगाइएको थियो ।
न्युयोर्कमा रहेको मानवअधिकार संगठन (एएफआई)ले पनाहीको सजाय एक दशकअघि सुनाएको हुनाले इरानी कानुनअन्तर्गत सीमाको म्याद सकिएको बताएको छ । तर इरानी न्यायपालिकाले उनको मुद्दा पुनरावलोकन गर्न वा जमानतमा रिहा गर्न अस्वीकार गरेको एएफआईले जनाएको छ ।एएफआईको वेबसाइटमा प्रकाशित खुला पत्रमा पनाहीले लेखेका छन्, ‘कानुनअनुसार पुनः सुनुवाइको लागि मेरो अनुरोध स्वीकार गरिसकेपछि र मेरो कानुनी मुद्दा पुनरावलोकनका लागि अदालतको शाखामा पुगेपछि मलाई तुरुन्तै धरौटीमा रिहा गरिनुपथ्र्यो । आफ्नो खुला पत्रमा, उनले सेप्टेम्बर २०२२ मा २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएदेखि देशलाई चकित पार्ने विरोध प्रदर्शन र त्यसयता भएको गिरफ्तारी र मृत्युदण्डको तथ्यलाई पनि उल्लेख गरेका छन् ।

- Advertisement -
‘हाम्रो देशका निर्दोष युवाहरूलाई ३० दिनभित्र मृत्युदण्ड दिइएको हामीले देखेका बेला गुप्तचर निकायको हस्तक्षेपले मेरो मुद्दा अदालतमा पुर्याउन १०० दिनभन्दा बढी समय लाग्यो,’ पनाहीले भने । पनाही विगत केही हप्तादेखि जेलमा फ्लु र अन्य रोगबाट पीडित थिए । ‘उनी इरानी अधिकारीद्वारा लगातार उत्पीडनमा परेका थिए र जेलमा आधारभूत अधिकारबाट वञ्चित थिए,’ उनी निकट स्रोतले एएफआईसँग भने ।

- Advertisement -
पनाहीलाई रिहा गर्न नेपाली निर्देशकको माग
यसैबीच, दीपक रौनियारलगायत केही नेपाली फिल्म निर्देशकले तत्काल पनाहीलाई रिहा गर्न माग गरेका छन् । सामाजिक सञ्जालबाट उनीहरुले ‘फ्रि जाफर पनाही’ ह्यासट्याग प्रयोग गर्दै उनको रिहाइको माग राखेका हुन् । पनाहीलाई यसअघि गिरफ्तार गर्दा पनि काठमाडौंमा फिल्ममेकरले प्रदर्शन गरेका थिए । फिल्म निर्देशक केपी पाठकले पनि पनाहीलाई थुन्नु अभिव्यक्ति स्वतन्त्रता विपरीत भएकाले उनलाई तत्काल रिहाइ गर्नुपर्ने बताएका छन् ।

- Advertisement -