
- Advertisement -
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संसदमा नियमित प्रश्नोत्तर हुन्छ । मंगलबार प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा प्रचण्डले सरकारले नेपाली नागरिकलाई रुसी सेनामा नपठाएको बताएका छन् । मन्त्रालयगत बजेटमाथि छलफलमा उठेका विषयहरुको मन्त्रीहरुले जवाफ दिने क्रम चलिरहेको छ ।
परराष्ट्र मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने थियो । तर उनी विदेश भ्रमणमा रहेका कारण प्रधानमन्त्री प्रचण्ड आफैं जवाफ दिन गए । उनको जवाफपछि सांसदहरुले पूरक प्रश्न सोधे ।
राप्रपाका सांसद ज्ञानेद्र शाहीले नेपालमा प्रधानमन्त्री छ कि छैन ? रुसी सेनामा भर्ना भएका नागरिक ल्याउन सरकारले के पहल गरिरहेको छ भनेर सोधेका थिए । आफैंमाथि प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने क्रममा ‘यहाँ हुनुहुन्छ कि हुनुहन्न ?’ भनेर प्रश्नकर्तालाई खोजे ।

- Advertisement -

- Advertisement -
विपक्षी बेञ्चमा रहेका शाहीले हात उठाएर आफू संसदमै रहेको संकेत दिएपछि प्रचण्डले भने, ‘नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ ।’
नेपाली नागरिक सरकारले पठाएर रुसी सेनामा नगएको भएपनि नेपाली नागरिक रुसी सेनामा जानु र युद्धमा मारिनु दुःखद भएको उनले बताए । नेपाल फर्काउने विषयमा रुसी सेनामा भर्ना भएकाहरुसँग समेत राय लिएको उनले दाबी गरे ।
प्रचण्डले भने, ‘अझ जोड दिएर भन्न चाहन्छु, प्रचण्ड भएको हुनाले भन्न चाहन्छु राति १२ बजे रुसी सेनाको लडाइँ मोर्चामा भएकाहरुसँग फोनमा कुरा गर्ने गरेको छु ।’

- Advertisement -