काठमाडौँ,१८ कार्तिक | ने.क.पा. (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र ने.क.पा. (बहुमत) निकट अखिल (क्रान्तिकारी) द्वारा आगामी निर्वाचनलाई सक्रिय बहिष्कार / अवज्ञा गर्ने निर्णय गरेको छ । आज पत्रकार सम्मेलन गर्दै सो कुरा बताएको हो । महात् जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायतका सङ्घर्षहरुमा सक्रिय भूमिका निर्वाह गर्दै त्याग, बलिदान र समर्पणसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता एवम् वैज्ञानिक र जनवादी शिक्षा प्राप्तिका निम्ति शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका विकृति विसङ्गति एवम् शिक्षाको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणविरुद्ध निरन्तर सङ्घर्ष जारी राख्न सो निर्णय गरेको प्रेस विज्ञप्ति मा जनाएको छ |

शिक्षा र स्वास्थ्य क्षेत्र माफियाहरुको कब्जामा रहेको र प्रधानमन्त्री शेरबहादुर देउवालगायत संसदवादी राजनीतिक दलका मुख्य नेताहरुबाट नै माफियाहरुको संरक्षण र नेतृत्व भइरहेको अखिल (क्रान्तिकारी)का केन्दीय अध्यक्ष हरि कृष्ण गजुरेल ले आरोप लगाउनु भयो । आगामी मसिर ४ गते तय भएको संसदीय निर्वाचनमा कतिपय ती दलाल, तस्कर, भ्रष्ट, ठेकेदार र माफियाहरु उम्मेदवार बन्ने र दिनप्रतिदिन राष्ट्रघात र जनघातका शृङ्खलाहरु एकपछि अर्को गर्दै थपिदै जाने अनि महँगी चरम रुपमा बढ्ने उहाको जिकिर थियो |

अहिलेको दलाल संसदीय राज्यव्यवस्था र सत्तालाई मजबुत बनाउन दलाल, राष्ट्रघाती र जनघाती शासकहरु मरिहत्ते गरेर लागिपरेको ,र जसका लागि आगामी मसिर ४ गते हुने संसदीय निर्वाचनको रङ्गमञ्चमा रमाइरहेको ने.क.पा. (बहुमत) निकट अखिल (क्रान्तिकारी)अध्यक्ष मिलन राई बताउनु भयो । चरमरुपमा स्रोत र साधनको दुरुपयोग गर्ने, प्रतिक्रियावादी र भ्रष्ट तत्वहरूद्वारा पैसाको खोलो बगाउने, विरोधी पार्टीको चुनावचिह्न लिने, फासीवादी ढङगले प्रस्तुत हुने, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चरम दलाली र राष्ट्रिय गद्दारी गर्नेहरुविरुद्ध भण्डाफोर गरी संसदीय निर्वाचन सशक्त एवम् सक्रिय बहिष्कार/अवज्ञा गर्नु अहिलेको आवश्यकता रहेको उहाको भनाई थियो ।
देशव्यापीरूपमा निर्वाचन बहिष्कार आन्दोलन र सभाहरु सञ्चालन अनुरूप यही कात्तिक २३ गते दिनको १२ बजे काठमाडौंको शान्तिबाटिकामा चुनाव बहिष्कारसभा र अन्य आन्दोलनका कार्यक्रमहरुलाई समेत अगाडि बढाउने प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ |पत्रकार सम्मेलनमा प्रेस बिज्ञप्ति अखिल क्रान्तिकारीका केन्दीय उपध्यक्ष शिलु न्यौपाने ले पढेर सुनाउनु भएको थियो भने अखिल(क्रान्तिकारी) कि महासचिव रुपा बुडाले उक्त कार्यक्रम संचालन गर्नुभएकाे थियाे।
प्रेस विज्ञप्ति-
शैक्षिक र स्वास्थ्य माफियाविरुद्ध सङ्घर्ष गरी ।
मसिर ४ गते तय भएको संसदीय निर्वाचन सक्रिय बहिष्कार/अवज्ञा गरी |
प्रेस विज्ञप्ति
ने.क.पा. (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र ने.क.पा. (बहुमत) निकट अखिल (क्रान्तिकारी) महात् जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायतका सङ्घर्षहरुमा सक्रिय भूमिका निर्वाह गर्दै त्याग, बलिदान र समर्पणसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता एवम् वैज्ञानिक र जनवादी शिक्षा प्राप्तिका निम्ति शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका विकृति विसङ्गति एवम् शिक्षाको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणविरुद्ध निरन्तर सङ्घर्षलाई अगाडि बढाउँदै नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको कुरा सुस्पष्ट गर्न चाहन्छ । साथै, राष्ट्रघात र जनघातका विरुद्ध सशक्त ढङ्गले अग्रमोर्चामा रहेर सङ्घर्ष गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा एवम् राष्ट्रघाती
सन्धि-सम्झौताविरुद्ध सशक्त ढङगले प्रतिरोध सङ्घर्ष सञ्चालन गर्दै आइरहेको कुरा समेत जानकारी गराउन चाहन्छौ । आज शिक्षा र स्वास्थ्य क्षेत्र माफियाहरुको कब्जामा छ भने तिनै शैक्षिक र स्वास्थ्य माफियाहरुको हालीमुहाली रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालगायत संसदवादी राजनीतिक दलका मुख्य नेताहरुबाट नै माफियाहरुको संरक्षण र नेतृत्व भइरहेकी छ । आगामी मसिर ४ गते तय भएको संसदीय निर्वाचनमा कतिपय ती दलाल, तस्कर, भ्रष्ट, ठेकेदार र माफियाहरु उम्मेदवार बनेका छन् दिनप्रतिदिन राष्ट्रघात र जनघातका शृङ्खलाहरु एकपछि अर्को गर्दै थपिदै गइरहेका छन् भने महँगी चरम रुपमा बढ्दै गइरहेको छ । जनता रोग र भोकबाट प्रताडित छन् । तर, दलाल शासकहरु सत्तामा पुग्न र टिकिरहनका लागि विदेशीको गुलामी गर्नमै तल्लीन छन् ।
७० लाखभन्दा बढी युवा र विद्यार्थी रोजगारी/अध्ययनको सिलसिलामा विदेशिन बाध्य छन् भने ५० लाखभन्दा बढी युवा र विद्यार्थी स्वदेशमै बेरोजगारीले प्रताडित छन् । अहिलेको दलाल संसदीय राज्यव्यवस्था र सत्तालाई मजबुत बनाउन दलाल, राष्ट्रघाती र जनघाती शासकहरु मरिहत्ते गरेर लागिपरेका छन्, जसका लागि आगामी मसिर ४ गते हुने संसदीय निर्वाचनको रङ्गमञ्चमा रमाइरहेका छन् । चरमरुपमा स्रोत र साधनको दुरुपयोग गर्ने, प्रतिक्रियावादी र भ्रष्ट तत्वहरूद्वारा पैसाको खोलो बगाउने, विरोधी पार्टीको चुनावचिह्न लिने, फासीवादी ढङगले प्रस्तुत हुने, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चरम दलाली र राष्ट्रिय गद्दारी गर्नेहरुविरुद्ध भण्डाफोर गरी संसदीय निर्वाचन सशक्त एवम् सक्रिय बहिष्कार/अवज्ञा गर्नु अहिलेको आवश्यकता बन्न पुगेको छ । वर्तमान सत्ता र व्यवस्थामा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता एवम् शिक्षा र स्वास्थ्य पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क र सर्वसुलभ सम्भव छैन भने स्वास्थ्य र शैक्षिक माफियाहरुको दबदबा र हालीमुहाली झन् बढ्दै जाने हुँदा दलाल र माफियाहरुविरुद्धको सङ्घर्षलाई थप सशक्त बनाउन जरुरी छ, जसकारण आगामी संसदीय निर्वाचनबाट देशले निकास पाउने नभई मुलुक थप सङ्कटको भूमरीमा फस्ने हुँदा दलाल संसदीय व्यवस्थालाई जरैसमेत उखेलेर फाल्नुपर्ने अपरिहार्यता बन्न पुगेको छ ।
हाम्रा मातृपार्टीहरु ने.क.पा. (क्रान्तिकारी माओवादी) र ने.क.पा. (बहुमत) लगायतका पार्टीहरुले आसन्न संसदीय निर्वाचनलाई सक्रिय बहिष्कार / अवज्ञा गर्ने निर्णयसहित आम जनसमुदायलाई उक्त संसदीय निर्वाचन बहिष्कार / अवज्ञामा सहभागी भई सक्रिय भूमिका निर्वाह गर्नसमेत अपिल गरिसकेको छ । सोही अनुरुप देशव्यापीरूपमा निर्वाचन बहिष्कार आन्दोलन र सभाहरु सञ्चालन गरिरहेको छ, जसअनुरूप यही कात्तिक २३ गते दिनको १२ बजे काठमाडौंको शान्तिबाटिकामा चुनाव बहिष्कारसभा र अन्य आन्दोलनका कार्यक्रमहरुलाई समेत अगाडि बढाउने तय गरिएको हुँदा विद्यार्थी, शिक्षक, मजदूर, किसान, युवा, महिलालगायत आम जनसमुदायलाई उक्त आन्दोलन र सङ्घर्षका कार्यक्रमहरुका साथै बहिष्कार/अवज्ञासभामा सक्रिय सहभागिताको लागि जोडदार आग्रह गर्दै वर्तमान सत्ता र व्यवस्थाको विकल्पको निम्ति सङ्घर्षको मैदानमा उत्रिनसमेत हामी दुई सङ्गठनको तर्फबाट सबैलाई अनुरोध गर्दै आसन्न संसदीय निर्वाचनलाई सक्रिय बहिष्कार/अवज्ञाको निम्ति आम जनसमुदाय र विद्यार्थीसमक्ष जोडदार अपिल गर्दछौं ।
क्रान्तिकारी अभिवादनसहित !
हरिकृष्ण गजुरेल अध्यक्ष अखिल (क्रान्तिकारी)
मिलन राई
अध्यक्ष अखिल (क्रान्तिकारी)