काठमाडाैं । वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा ४ जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका वडा नं. २ खेजेनिमको तिङ्दुमा गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले बताए ।
मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्राका बुवा ७० वर्षीय रामबहादुर साम्रा लिम्बु, रामबहादुरकी ४८ वर्षीया श्रीमती जसमाया साम्रा र उनीहरुका दुई जुम्ल्याहा छोरीहरु १० वर्षीया गंगा र जमुना रहेका वडाध्यक्ष चौलागाईले बताए । घरदेखि करिब २ सय मिटर माथिबाट आएको पहिरोले घरसहित ४ जना मानिस र ७० ओटाभन्दा बढी पशुचौपाया बगाएको हो ।
घट्नास्थलमा हाल सिँवा प्रहरी चौकीको टोली खटिएको र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको नेतृत्वमा थप प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।