काठमाडौँ । दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरण खेल्ने तयारीमा रहेको नेपालको शीर्ष डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबले आफ्नो प्रशिक्षणमा तीव्रता दिइरहेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा मच्छिन्द्रले प्रशिक्षण सुरु गरेको हो ।
एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको पहिलो खेलमा मच्छिन्द्रले भुटानको लिग च्याम्पियन पारो एफसीविरुद्ध चुनौती प्रस्तुत गर्नेछ । उक्त खेलमा आगामी साउन २३ गते दशरथ रंगशालामा नै हुँदैछ । मच्छिन्द्रले भने लिग च्याम्पियन भएर उक्त प्रतियोगिता खेल्न लागेका होइन । डेब्यु सिजनमा चर्च ब्वाइज क्लब लिग च्याम्पियन भए पनि एएफसी क्लब लाइसेन्स नहुँदा दोस्रो स्थानको मच्छिन्द्रले त्यो अवसर पायो । त्यससँगै मच्छिन्द्रले लगातार दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको खेल खेल्ने भएको हो ।
पहिलो सहभागिता भने मच्छिन्द्रका लागि सुखद भएन । प्रारम्भिक चरणको खेलमा नै मच्छिन्द्र श्रीलङ्काको ब्लु स्टारसँग २–० ले पराजित हुन पुग्यो र उसको यात्रा थप अगाडि बढ्न सकेन । यस पटक भने मच्छिन्द्र सुखद नतिजा ल्याउने आशामा रहेको प्रशिक्षक किशोर केसीको भनाइ छ । सबैले राम्रो मेहनत गरिरहेको र राष्ट्रिय टोलीबाट पनि खेलाडी आएकाले राम्रो टोली बन्नेमा आफू विश्वस्त रहेका प्रशिक्षक केसी बताउँछन् । अघिल्लो सिजन मच्छिन्द्रले ब्लु स्टारविरुद्ध सुखद नतिजा निकाल्न नसक्दो प्रारम्भिक चरण पार गर्न सकेन । उक्त खेलमा मच्छिन्द्रले बल पोसेसन पनि आफ्नो नियन्त्रणमा राखेको थियो । तर, हार बेहोर्यो । यस पटक भने मच्छिन्द्रले खेलाडी अनुबन्धन र तयारी राम्रो गरेकाले दोस्रो चरणमा पुग्ने प्रशिक्षक किशोर श्रेष्ठको बताउँछन् ।
मच्छिन्द्रको टोलीमा कुल २३ खेलाडी अनुबन्धित छन् । यीमध्ये ९ जना गत लिगमा विभिन्न क्लबबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सको यात्राका लागि अनुबन्धित गरेको छ । प्रशिक्षक केसीले समय थोरै भए पनि जतिसक्दो राम्रो तयारी गर्ने योजनामा छन् । एक हप्ता फिजिकल र त्यसपछि ट्याक्टिकल पक्षमा ध्यान दिने प्रशिक्षक केसीले बताउनु भयो । भुटानले पछिल्लो समय फुटबलमा राम्रो गरिरहेको छ । उनीहरूको यूथ लेभलको फुटबल निकै राम्रो रहेको प्रशिक्षक केसीको धारणामा छ । त्यसैले पनि पारोसँग सचेत रहेर राम्रो फुटबल खेल्ने प्रशिक्षक केसीको विश्वास छ ।
यस पटक भने मच्छिन्द्रले पहिलो चरणको खेल जित्ने लक्ष्यका साथ लिगका चर्चित विदेशी खेलाडी र राष्ट्रिय टोलीका खेलाडीलाई केही समयका लागि भित्राएको छ । तीमध्ये मेसुके ओलामोउ, लाकेन लिम्बु, सनिष श्रेष्ठ र आयुष घलान हुन् । यो खेल जितेमा मच्छिन्द्रले साउथ जोनको दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ ।
मच्छिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले प्रशिक्षकको योजनाअनुरूप आफूहरूको मेहनत गरिरहेकाले लिगको भन्दा बलियो टोली बन्नेमा विश्वस्त रहेको बताए । आफूहरूलाई चाहिने पोजिसनमा पनि खेलाडी थपिएको र केही युवा खेलाडीहरू निकै राम्रो रहेकाले पारोसँगको प्रतिस्पर्धा उत्कृष्ट हुने कप्तान श्रेष्ठको विश्वास छ ।
मच्छिन्द्रले यो खेल पनि जिते प्लेअफ राउण्डमा बंगलादेशको ढाका अबाहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्न पाउनेछ । मच्छिन्द्र पनि दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ । यद्यपि, त्योभन्दा पहिलो पारोसँग खेलमा आफूहरू केन्द्रित रहने योजनामा छ ।