नेपालद्वारा पठाइयो भूकम्प पीडित टर्कीका जनताका लागि राहत

काठमाडौँ । सरकारले टर्कीका भूकम्प पीडित जनताका लागि राहत सामग्री पठाएको छ । औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहित करिब २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानीमा टर्किस एयरलाइन्समार्फत आज दिउँसो पठाइएको हो ।यही फेब्रुअरी ६ तारिखका दिन टर्कीमा गएको विनाशकारी भूकम्पपछि त्यहाँका जनता ठूलो मर्कामा छन् । हाल विश्वभरिबाट टर्कीका लागि पुनःस्थापना, राहत तथा उद्धार भइरहेको छ । यसैमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले पनि राहत सामग्री पठाएको हो ।

यसअघि ०८ फेब्रुअरी २०२३ मा परराष्ट्रमन्त्री माननीय डा. विमला राई पौड्यालले टर्कीका आफ्ना समकक्षी एचई मेभलुत्काभुसोउलुसँग टेलिफोन वार्ता गरेर अमूल्य जीवन र सम्पत्तिको क्षतिप्रति टर्कीका जनता र सरकारमा गहिरो समवेदना व्यक्त गरेकी थिइन् । उनले टर्कीका जनतालाई नेपाली जनताको तर्फबाट ऐक्यबद्धताका लागि सक्दो सहयोग गर्ने बताएकी थिइन् । सोही बमोजिम नेपालबाट राहत सामग्री संकलन गरेर टर्की पठाइएको हो । यसमा सहयोग गर्ने सबै सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्थाहरू र टर्किस एयरलाइन्सप्रति परराष्ट्र मन्त्रालयले धन्यवाद प्रकट गरेको छ ।

Comments (0)
Add Comment